आजबाट काठमाडौंमा सुरू भएको “दोस्रो अर्थशास्त्री सम्मेलन”मा नेपाल राष्ट्र बैङ्कका गभर्नर अधिकारीले अहिले दीर्घकालीन लगानीका बारेमा सोचिरहेकाले ऋणलाई जथाभाबी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताउनुभयो । उहाँले आवाजविहीनहरूको र साना लगानीकर्ताहरूका लागि, दुई करोड रुपैयाँभन्दा कम लगानी गर्नेहरूका लागि बेस रेटमा दुई प्रतिशतभन्दा बढी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी दीर्घकालीन लगानी गरिरहेका छौँ । जग्गामा लगानी गरेका छौँ, होटल बनाएका छौँ ।
यो विषयमा हामीले ओरियन्टेशन गराउन नसकेको, लिट्रेसी दिन नसकेको हुनसक्छ । यसमा हामी अहिले एग्रेसिभ रूपमा लागिरहेका छौँ । २०४६ सालदेखि नेपाल राष्ट्र बैंकले इन्ट्रेसको सन्दर्भमा डिरेगुलाइज गरेको हो । हामीले मार्केटलाई छोडेको हो । अब यो विषयमा पनि बहस होस् । के मार्केटले यही चाहेको हो त ? के निजी क्षेत्रले यही चाहेको हो ? हामी २०४६ सालभन्दा अघि जान खोजिएको हो ? यसमा पनि छलफल होस् ।
’गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताउनुभयो । उहाँले नेपाल समान देशको तुलनामा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्नुभयो । उहाँले पुस मसान्तको तथ्याङ्कअनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गएकाे सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको स्पष्ट पार्नुभयो । उहाँले अर्थतन्त्रका बाह्य क्षेत्रको तथ्याङ्क सुधार भएर गएको बताउनुभयो । गभर्नर अधिकारीले नेपाल अहिले झन्डै १० अर्बभन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै झन्डै १० महिनाको आयातलाई धान्न सक्ने क्षमतामा रहेको बताउनुभयो ।