कुनै बेला शिवम् सिमेन्टको प्रतिसेयर मूल्य १ हजार ९ सय १० रूपैयाँसम्म पुगेको थियो। अहिले यसको बजार मूल्य ७५ प्रतिशत घटेर बिहीबार ४ सय ६५ मा कारोबार भयो।
मूल्य घटे पनि कम्पनीको सेयर कारोबार केही दिनदेखि लगातार बढिरहेको छ
मंगलबार, बुधबार र बिहीबार गरी पछिल्ला तीन दिनमा सेयर बजारको कुल कारोबार रकम हेर्दा शिवम् सिमेन्टले ५ देखि साढे ६ प्रतिशत हिस्सा ओगटेको देखिन्छ।साताभरिको तथ्यांक हेर्ने हो भने ८ अर्ब ४३ करोड रूपैयाँ बराबर सेयर कारोबार भएको थियो, जसमध्ये शिवम् सिमेन्टको कारोबार २७ करोड रूपैयाँको छ। यो कुल कारोबार रकमको ३.२९ प्रतिशत हो।
लगानीकर्ताहरूले सेयर मूल्य घटिरहेको शिवम् सिमेन्टको कारोबार किन बढाए त?
यसका दुई कारण छन्।
पहिलो, कतिपय लगानीकर्ताले महँगो मूल्य तिरेर कम्पनीको सेयर किनेका थिए। त्यस्ता लगानीकर्ताहरू घाटा समायोजनको रणनीति लिएर लगानी गरिरहेका छन्।
दोस्रो, कतिपय लगानीकर्ताले भने निकै सस्तोमा शिवम् सिमेन्टको सेयर किन्न पाएकाले यो मौका उपयोग गरिरहेका छन्।
यहाँनिर फेरि अर्को प्रश्न उठ्छ- कम्पनीको अहिलेको अवस्था कस्तो छ त?
शिवम् सिमेन्टको अवस्थाको कुरा गर्दा हामीले समग्र सिमेन्ट बजारबारे कुरा नगरी हुँदैन। अहिले निर्माण क्षेत्रमा शिथिलता आएकाले सिमेन्टको बिक्री घटिरहेको छ। यसले सिमेन्टको मूल्यमा पनि कमी आएको छ। यो क्षेत्रमा देखिएको बढ्दो प्रतिस्पर्धाका कारण सिमेन्टको मूल्य बढाउने अवस्था पनि छैन। अहिले मुलुकमा ५५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्, जसमध्ये २० वटाले क्लिंकरसमेत उत्पादन गर्छन्।
यति मात्र होइन, कम्पनीमा सामान स्टक रहने अवधि पनि १०३ दिनबाट बढेर १६८ दिन पुगेको छ।
कम्पनीका केही सकारात्मक पक्ष पनि छन्। यो कम्पनीले तिर्न बाँकी ऋण धेरै छैन। कम्पनीमा गोयल, लक्की, शारडा, भिमसरिया, मारू, मुन्दडाजस्ता अनुभवी समूहको लगानी छ।
यसअघि २४ देखि २९ प्रतिशतसम्म लाभांश दिइरहेको शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफापछि दिएको लाभांश भने घटेको छ। कम्पनीले गत वर्ष १०.५३ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले सुरूदेखि नै नगद लाभांश मात्र दिँदै आएको छ।
चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकमा कम्पनीको नाफा २३ प्रतिशत घटेर ३२ करोड रूपैयाँमा आएको छ। गत आर्थिक वर्षको त्यही अवधिमा ४२ करोड नाफा कमाएको थियो।
कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी २७ प्रतिशत घटेको छ। गत वर्ष यही अवधिमा ४ अर्ब ६० करोड आम्दानी गरेकोमा यसपटक ३ अर्ब ३४ करोड आम्दानी गरेको छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी १४ रूपैयाँ ९६ पैसा, प्रतिसेयर नेटवर्थ २०६ रूपैयाँ छ।
कम्पनीको प्राविधिक विश्लेषण हेर्ने हो भने यसको सेयर मूल्य घट्न बिस्तारै रोकिने र माथि तिर जानसक्छ।